नेपालमा पछिल्लो समय छुर्पीको निर्यात घट्दै
काठमाडौं । भारत लगायत अन्य मुलुकमा पनि छुर्पीको उत्पादन भइरहेकाले अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी बनिरहेको छ । पछिल्लो समय नेपालमा छुर्पीको निर्यात घटेको छ । अफ सिजन भएकाले पनि छुर्पी निर्यातमा कमी आएको जनाइएको छ ।
डग च्यू पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने छुर्पीको प्रकार हो । विदेशी मुलुकमा यसको प्रयोग कुकुर तथा बिरालोको आहाराका रूपमा हुने गर्दछ । अहिले नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाइरहेको छ । नेपालले अमेरिका, क्यानडा, यूके (बेलायत), कोरिया, ताइवान, हङकङ, जापान, ग्रिस, नेदरल्याण्ड्स, मलेसिया, सिंगापुर, दुबई, थाइल्याण्ड, फिलिपिन्स, चिन, फ्रान्स, कतार र इटालीमा गरी १७ राष्ट्रमा डग च्यू पठाउने गर्दछ ।
तर कूल डग च्यू निर्यातको ८० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । त्यसबाहेकका युरोपियन राष्ट्रमा नेपाली छुर्पीको माग बढाउन सकिएको छैन । सरकारबाट पनि कुनै प्रकारको सहुलियत नपाएको व्यवसायीको गुनासो छ । भारतले नयाँ नयाँ छुर्पीकै उत्पादन निकाल्दै गर्दा नेपालको सानो बजार पनि खुम्चिने डर छ । नेपालमा छुर्पी व्यवसाय राष्ट्रिय स्तरमा पहिचान नभएको र किसानलाई पनि व्यवसायका लागि प्रोत्साहन भएको छैन् ।
गत आवको तुलनामा छुर्पी निर्यात करिब १० करोडभन्दा बढीले घटेको देखिन्छ । वार्षिक रूपमा निरन्तर बढ्दै गइरहेको छुर्पीको निर्यात चालु आर्थिक वर्षमा सुस्त देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांक हेर्दा नेपालबाट कूल १ अर्ब ३५ करोड ६६ लाख रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्षको पाँच महिनामा यस्तो छुर्पी १ अर्ब ४५ करोड १५ लाख ३१ हजार रूपैयाँको निर्यात भएको थियो । चालु आर्थिक वर्षको पुस महिनासम्ममा १ अर्ब ८७ करोड ५८ लाख ६८ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ७ करोडले बढेको छ ।
यस वर्षमा छुर्पी निर्यातको वृद्धिदर निकै न्युन रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा पठाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ सम्ममा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा निर्यात गरेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रूपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी छुर्पी निर्यात भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रूपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी छुर्पी विदेशी मुलुकमा निर्यात गरेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षमा मात्रै नेपालले ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो । ६ वर्षअघि नेपालले वार्षिक १ अर्ब ५ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात गर्दथ्यो भने पछिल्ला वर्षमा वार्षिक साढे ४ अर्ब बढीको निर्यात गर्दै आइरहेको छ । हरेक वर्ष नेपालबाट छुर्पी निर्यात बढ्दै गइरहेको देखिन्छ । तर, चालु आर्थिक वर्षमा यसको वृद्धिदर घट्दै गइरहेको छ ।
