चुनावसम्बन्धी कुनै गतिविधि नगर्न एन्फालाई उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फालाई यही २८ माघमा झापामा गर्ने भनिएको चुनावी साधारणसभाका सबै प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल एजलासले आगामी ६ माघमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । सो मितिसम्म निर्वाचनका सबै प्रक्रिया स्थगनमा राख्न आदेश दिएको छ । यता, पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले भने राष्ट्रिय खेलकुद परिषद् राखेपको निर्देशनलाई लत्याउँदै निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो ।
राखेपले एन्फा विधानका ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न आदेश दिएको थियो । एन्फाले जिल्ला र प्रदेशको निर्वाचनविनै अर्ली इलेक्सन गर्न खोजेपछि गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्री अदालत पुगेका थिए । आगामी ४ असारमा नेम्वाङ नेतृत्वको एन्फाको कार्यकाल पूरा हुँदै छ ।
