sevenstartv.com ९ माघ २०८२, शुक्रवार

राष्ट्रियसभा निर्वाचन : बागमतीका ६ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेदवारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार आइतबार अन्तिम नामावली प्रकाशित गरी कायम रहेको ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको हो । निर्वाचनका लागि महिला क्लस्टरमा एमाले कांग्रेस गठबन्धनबाट चितवनकी गीता देवकोटाले उम्मेदवारी दिएकी थिइन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी देवकोटालाई रुख चिन्ह प्रदान गरिएको छ भने अन्य क्लस्टरमा गठबन्धनबाट काठमाडौंका डा. प्रेमप्रसाद दंगाल उम्मेदवार बनेका छन् । एमाले निकट अखिल नेपाल कृषक महासङ्घका अध्यक्ष समेत रहेका दंगाललाई एमालेको चुनाव चिन्ह सूर्य प्रदान गरिएको छ ।

महिला क्लस्टरमा उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० की सरोजकुमारी झालाई पाँच कुने तारा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी कविता महर्जनलाई मादल चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । अन्य समूहबाट उम्मेदवारी दिएका नेकपाका उम्मेदवार प्रेमप्रसाद सापकोटालाई पाँचकुने तारा र नेमकिपाको तर्फबाट उम्मेदवार भएका विक्रम डुकुछुलाई मादल चिन्ह प्रदान गरिएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ। बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका सदस्य २ जना  रहेका छन् । तत्कालीन एकीकृत समाजवादीका बेदुराम भुसाल र गङ्गाकुमारी बेलबासेको पदावधि सकिँदैछ । दुवै जना हाल नेकपामा आबद्ध रहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्