sevenstartv.com १० माघ २०८२, शनिवार

भदौ २३-२४ को घटनाबारे बुझ्न जाँचबुझ आयोगद्वारा देउवा र दाहाललाई पत्राचार

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाललाई पत्राचार गरेको छ । देउवाले पत्र बुझ्नु भएको छ भने दाहालले पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । आयोगले शुक्रबार बिहान प्रधानमन्त्रीद्वय दाहाल र देउवालाई पत्रचार गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन् ।  

पत्रमा छानबिनमा सहयोग पुर्याउन अनुरोध गर्दै भदौं २३ र २४ गतेको घटना हुने स्थितिको कारण सोधिएको बताइएको छ । पत्रमा जेन–जी आन्दोलन हुने स्थितिको राजनीतिक कारणसहित उक्त दुई दिनमा के–के देखेको र व्यक्तिगत सम्पत्तिमा के कति क्षति पुगेको सहितका जवाफ पठाउन अनुरोध गरिएको आयोगका एक सदस्यले बताए । पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले आयोगले पठाएको पत्र प्राप्त भएको जनाएको छ । पार्टीभित्र विशेष महाधिवेशनको विवादले तनावमा रहेका देउवा बयान कहिले कसरी दिने केही स्पष्ट नभएको सचिवालयले जनाएको छ । 

अर्का पूर्वप्रधानमन्त्री दाहाल काठमाडौंबाहिर रहेकाले उनको सचिवालयले पत्र बुझेको छैन् । पार्टीको कामले दाहाल संखुवासभामा छन् ।  आयोगमा कार्यरत एक डीएसपीले पत्र बुझ्न दाहालको सचिवालयलाई आग्रह गरेको भए पनि दाहालको सचिवालयले दाहाल दुईदिन काठमाडौं उपत्यकामा नहुने र काठमाडौं फर्किएपछि मात्रै पत्र बुझ्न वा नबुझ्ने निर्णय लिने जवाफ दिएको छ । यसैबीच, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउने अन्तिम तयारी गरेको छ । आयोगले आजै पत्र पठाउने गरी गृहकार्य गरेको थियो । तर अबेरसम्म पनि पत्र पठाएको छैन् । आइतबारसम्ममा ओलीलाई पत्र पठाउने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्