जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी
काठमाडौं । गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन बिमा कम्पनीमा परेका तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपियाँ दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख बिमितलाई भुक्तानी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा १४ निर्जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ७१२ वटा बिमा दाबीको करिब १९ अर्ब पाँच करोडमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख र मोटर बिमातर्फ दुई हजार ३२१ वटा बिमा दाबीको करिब तीन अर्ब ४६ करोड १६ लाखमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख रुपियाँ भुक्तानी भएको छ ।
यसै गरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२६ वटा बिमा दाबीको करिब ५५ करोड ३९ लाखमध्ये करिब आठ करोड ३६ लाख, परिवहन बिमातर्फ १२ वटा बिमा दाबीको करिब एक करोड ६९ लाखमध्ये करिब एक करोड ५५ लाख र अन्य बिमातर्फ ४५ वटा बिमा दाबीको करिब ३८ करोड ४० लाखमध्ये करिब पाँच करोड रुपियाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
