माधवकुमार नेपालविरूद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियारबाट सक्कल फाइल मगाउने अदालतकाे आदेश
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियारबाट सक्कल फाइल मगाउने आदेश गरेको छ । पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियारबाट २०६९ मंसिर २५ गतेको निर्णय मगाउने आदेश गरेको हो ।
विशेषले साक्षीहरूलाई भौतिक उपस्थिति वा श्रव्यदृश्यमार्फत उपस्थित गराइ बकपत्र गर्नसमेत आदेश गरेको छ । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध अख्तियारले जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा दोस्रो सुनुवाइ गर्दै विशेषले सोमबार आदेश गरेको हो । नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

.gif)