sevenstartv.com ९ माघ २०८२, शुक्रवार

पर्यटक आगमन उत्साहजनक

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछिको विकसित परिस्थितिमा पनि नेपालमा पर्यटक आगमन उत्साहजनक रहेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख ६० हजार नाघेको छ । 

पर्यटक आगमनमा देखिएको यो वृद्धिमा नेपाल पर्यटन बोर्डको रणनीतिक योजना, कूटनीतिक पहल र निरन्तरको बजारीकरणले ठुलो भूमिका खेलेको बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् । ‘पर्यटनलाई असर पर्न सक्ने नकारात्मक प्रभावलाई चिर्न बोर्डले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न कुनै कसर बाँकी राखेको छैन,’ उनले भने ।

सन् २०२५ को ११ महिनाको तथ्याङ्कलाई कोभिडअघिको ‘बेन्चमार्क’ वर्ष सन् २०१९ सँग तुलना गर्दा नेपालको पर्यटन बजारमा संरचनात्मक परिवर्तन आएको देखिन्छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार पर्यटक आएकोमा यस वर्ष सोही अवधिमा १० लाख ६० हजार भित्रिएका छन् । यो संख्या केवल ३।३ प्रतिशतले मात्र कम हो । तर स्रोत बजारमा भने ठुलो परिवर्तन देखिएको छ ।

पश्चिमा मुलुकहरू र अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक छ । कोभिड अगाडि सन् २०१९ मा अमेरिकाबाट ८६ हजार ९९४ पर्यटक आएकोमा सन् २०२५ को ११ महिनामै १ लाख ५ हजार २३९ जना भित्रिएका छन् । यो कोभिड अघिको तुलनामा २१ प्रतिशतको वृद्धि हो । छिमेकी मुलुक भारत नेपालको पर्यटनको सधैँ प्रमुख आधारस्तम्भ रहँदै आएको छ । कोभिड अघिको तुलनामा भारतीय पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ को ११ महिनामा २ लाख ३० हजार भारतीय पर्यटक आएकोमा सन् २०२५ मा यो संख्या बढेर २ लाख ६२ हजार ३४५ पुगेको छ । यो १३।७ प्रतिशतको वृद्धि हो ।

सबैभन्दा आश्चर्यजनक वृद्धि भने बंगलादेशबाट भएको छ । सन् २०१९ मा करिब २२ हजार बंगलादेशी पर्यटक आएकोमा सन् २०२५ मा यो संख्या १३१ प्रतिशतले बढेर ५० हजार ९४० पुगेको छ । बंगलादेशमा बढ्दो मध्यमवर्गीय जनसंख्या र नेपालसँगको सहज ‘कनेक्टिभिटी’का कारण बंगलादेशीहरूका लागि नेपाल पहिलो रोजाइको वैदेशिक गन्तव्य बन्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

नेपालको पर्यटनमा सधैँ उत्साह थप्ने उत्तरी छिमेकी तथा कोभिड अघिको दोस्रो ठुलो स्रोत बजार चीनबाट हुने आगमन भने अझै बौरिन सकेको छैन । सन् २०१९ को ११ महिनामा १ लाख ५२ हजार ८६८ चिनियाँ पर्यटक नेपाल आएका थिए । तर सन् २०२५ को सोही अवधिमा यो संख्या ८६ हजार ८०० मा सीमित भएको छ । यो कोभिडअघिको तुलनामा ४३।२ प्रतिशतको गिरावट हो ।

 


त्यस्तै थाइल्याण्ड, जापान र दक्षिण कोरियाजस्ता पूर्वी एसियाली मुलुकहरूबाट हुने आगमन पनि कोभिड अघिको तुलनामा क्रमशः २७, १९ र २२ प्रतिशतले कम देखिन्छ । समग्र एसियाली समूहमा २८।६ प्रतिशतको गिरावट देखिएको छ । मुख्य पर्यटकीय सिजन मानिने नोभेम्बर महिनामा १ लाख १६ हजार ५५३ पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १।८ प्रतिशतले बढी हो । यद्यपि यो संख्या सन् २०१९ को नोभेम्बर ९१ लाख ३० हजार० को तुलनामा भने १०.६ प्रतिशतले कम हो ।

तर यसमा युरोपबाट आउने पर्यटकको संख्यामा भने सुधार देखिएको छ । सन् २०१९ को नोभेम्बरको तुलनामा यस वर्ष युरोपेली पर्यटकको आगमन १ प्रतिशतले बढी छ भने अघिल्लो वर्ष २०२४ को तुलनामा ७।२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीका तारे होटलहरूको अकुपेन्सी दरमा पनि सुधार हुँदै गएको होटल संघ नेपाल ९हान० ले जनाएको छ ।

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्