sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा भारी वृद्धि

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । 

यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा  प्रतिक्रेट रु ५५ ले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । 

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको बताइएकाे छ  । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलब ५७ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएका छन् । नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए । उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो । 

तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु पाँच सय ३० पुगेकामा क्रमशः रु चार सयमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्