sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिए आठ अर्ब ७० करोडका गाडी

१७ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व  दुवै वृद्धि भएको जानकारी दिए । गत आवको तीन महिनामा भने ६ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए। गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो । 

चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। ती ‘अनएसेम्बल्ड’ मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा  ६२ करोड २४ लाख मूल्य पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ । 

ती सवारीसाधनको आयातबाट एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ। गत आवको तीन महिनाको अवधिमा भने ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो। सो आवमा ती सवारीसाधनको आयातबाट भने एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो । चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्