sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपालसँग कतार पराजित

२८ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई पराजित गरेको छ । 

गएराति भएकाे सम्पन्न खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हाे । मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन । तर, सन्दीप लामिछानेको सानदार बलिङप्रेरित नेपालले अर्को रोमाञ्चक जित हासिल गर्यो ।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।  सात ओभरमा कतारलाई जितका लागि ४३ रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो । तर, नेपालले जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गर्दै दुई अंक खोस्यो ।

अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो । त्यहीबेला कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए । सुरुआती दुई बल ‘डट’ फ्याकेका सन्दीपले तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गरिदिए । त्यसपछिका दुई बलमा कतारले दुई रन जोड्यो । अब अन्तिम बलमा कतारलाई सात रन आवश्यक हुँदा पनि पूरा गर्न सकेन । 

सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए । लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । 

खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिँदा नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित खेलमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । रोहितले ५८ रनको पारी खेले ।

रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रन बनाए । त्यस्तै १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए । कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए ।  जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ । 

नेपाल ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ । भोलि शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा सथान बनाउनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो । मंगलबार दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएई नेपालसँग एक रनले स्तब्ध बनेको थियो । नेपालले शुक्रबार समोआसँग खेल्ने तालिका छ। 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्