विश्वकप छनोट : नेपाल र जापान भिड्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्ने भएको छ । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् । नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ । त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।
आइसीसी पुरुष टि-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन् । आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन् । सुपर सिक्सको प्रतिस्पर्धाबाट शीर्ष तीन टिम विश्वकप छनोट हुनेछन् ।

.gif)