sevenstartv.com ६ मंसिर २०८२, शनिवार

वेस्ट इन्डिजमाथि नेपालको जित

१२ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौंं । नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । ​ 

वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो। यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।  जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए। ओपनर काइल मेयर्स ५ रनमै रन आउट भए कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए।​ जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । 

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए ।त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो।  नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेललाई ६ र आसिफ शेख ३ रनमा  आउट भए। नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । गुलशन झाले १६ बलमा २ छक्कासहित २२ रन जोडे। टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए। सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।​

वेस्ट इन्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए ।  नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने कप्तान अकिल हुसेनले १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्