sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

सवारी लाइसेन्स छपाइ गर्ने बागमती सरकारकाे तयारी

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।

प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको जनाइएकाे छ ।

यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने छ । लाइसेन्स छपाइ सेवा विभागमा मात्र सीमित हुँदा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको थियो । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ ।

विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।

यो पनि पढ्नुहोस्