अफगानिस्तानमा बस दुर्घटना हुँदा १७ बालबालिकासहित ७३ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमा १७ बालबालिका छन् । एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए ।
तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए । बसमा रहेका सबै जनाको मृत्यु भयो भने ठोकिएका दुई सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको जनाइएको छ ।
हालैका महिनामा इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानहरूलाई निष्कासन गर्ने प्रक्रिया बढाएको छ । १९७० को दशकदेखि लाखौँ अफगानी इरान र पाकिस्तान भागेका छन् ।
१९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमण र २०२१ मा तालिबान सत्तामा फर्किएपछि ठूलो संख्यामा मानिस विस्थापित भएका छन् ।
