sevenstartv.com ११ असार २०८३, बिहिवार

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट हो : परराष्ट्रमन्त्री डा. राणा

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आजदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनका अनुसार मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ । मन्त्री डा. राणाले यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेकोबताएकी छन् ।

उनले हाम्रा सामु खडा भएका जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै यो दायित्व सबैको हो भनेर लाग्नुपर्ने बताएइन् । विश्व मौसम विज्ञान संगठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियसले बृद्धि भएको प्रसंग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेकोमा पनि उनले जोड दिएकी छन् । 

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सिमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको स्पष्ट गरेको बताइन् । भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरु नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको बताउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दुकुश हिमालय क्षेत्रमा परिरहेको पनि स्पष्ट गरीन् । 

भूकम्प, हिमनदीहरु पग्लिने अवस्था, अनियमित वर्षा, जैविक विविधताको क्षय, बाढी र पहिरोको सामना गरिरहेका विश्वका जलवायु–संवेदनशील देशहरूमध्ये नेपाल गम्भीर जोखिममा परेको उनको भनाई थियो । नेपालको कार्बन उत्सर्जन अत्यन्तै नगण्य रहेको भए पनि यसको प्रभावको सबैभन्दा नराम्रो असर भोग्नुपरिरहेको बताउँदै मन्त्री डा राणाले नेपालले जलवायु अन्याय भोगिरहेको बताएकी छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्