बाढी र पहिरोमा परी पाकिस्तानमा ३ सय ४० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो । जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जंनौं घाइते भएका छन् ।
पाकिस्तान अधिनस्थ जम्मु९कश्मीरमा ११ जना र गिलगित९बालिस्टान क्षेत्रमा १२ जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणलाई उद्दृत गर्दै जियो टीभीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । उद्दारमा २ हजारभन्दा बढी मानिस खटिएका छन् । उद्दार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न पठाएको छ ।
सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाले घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् । यसैबीच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबी कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिएको छ ।
विभागले जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारले शनिबार देशव्यापी शोकको घोषणा गरेको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ । मृतकलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पाकिस्तान सरकारले जनाएको छ ।
