इरानको आणविक महत्वाकांक्षा ध्वस्त : अमेरिका
काठमाडौँ । अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रविरुद्ध अमेरिकी सैन्य आक्रमणले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताउनुभएको छ ।
विभिन्न आणविक केन्द्रविरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताउनुभयो । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरु – फोर्डो, नातान्ज र इस्फहान – विरुद्ध सटीक आक्रमण गरेको उहाँको भनाइ छ । इरानी नेताहरूलाई थप आक्रमणबाट बच्न शान्ति खोज्न आग्रह गर्नुभयो ।
इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उहाँको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उहाँको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उहाँको भनाइ छ ।
अपरेशन मिडनाइट नामक अपरेशनमा अमेरिकी आक्रमणमा १४ बंकर–बस्टर बम, दुई दर्जन भन्दा बढी टोमाहक मिसाइल र १२५ भन्दा बढी सैन्य विमान समावेश थिए । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले तीन इरानी आणविक स्थलमा अमेरिकी आक्रमणको निन्दा गर्दै यो आक्रामकताले संयुक्त राज्य अमेरिका इस्लामिक गणतन्त्र इरान विरुद्ध जियोनिस्ट शासनको शत्रुतापूर्ण कार्यहरू भएको बताउनु भयो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिको समय बितिसकेको र देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताउनु भयो । अमेरिकाले धेरै ठूलो गल्ती गरेको उहाँको भनाइ छ । एजेन्सी
