इजरायल–इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गर्नुभएको छ । सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिनुभएको हो ।
द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उहाँले युद्ध हुन दिन नहुने बताउनुभयो । इजरायल र इरानबीचको द्वन्द्व द्रुत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकको मृत्यु र घाइते हुने, घर, छिमेक र नागरिक पूर्वाधार ध्वस्त हुने र आणविक सुविधामा आक्रमण हुने जस्ता घटना समावेश छन् ।
यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उहाँको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गर्नुभयो । एजेन्सी
