संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित : डा. प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि उनले यस्तो बताएका हुन् ।
उनले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । उनले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताए । उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताए ।
प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पारे ।
