निजामती कर्मचारीले दिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना
काठमाडौं । निजामती कर्मचारीका विभिन्न संघ–सङ्गठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरूले मन्त्रालमा बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिएका हुन् । ट्रेड युनियन सञ्जालको नेतृत्वमा ११ बुँदे मागसहित उनीहरूले विधेयकमा आपत्ति जनाएका छन् ।
ट्रेड युनियन सञ्जालले राखेका माग सम्बोधनमा राज्य उदासीन देखिएको बताउँदै आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवालले बताएका छन् । उनले कर्मचारीको वृद्धि विकासका मागलाई सम्बोधन गर्नुपर्ने र त्यसले राज्यलाई आर्थिक भार नपर्ने दाबी गरे ।
उनले संघ, प्रदेश र स्थानीय तहको परिभाषामा पनि सरकार उदासीन देखिएको बताउँदै प्राविधिक पदमा नासु स्तरको लोकसेवा खोलिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने लगायतका माग राखेको बर्ताए । उनले तल्लो स्तरका कर्मचारीलाई राज्यले अपमान गरिरहेको गुनासो समेत गरेका छन् ।
