सार्वजनिक सवारीसाधनमा ‘जीपीएस ट्र्याकिङ’ राख्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले यातायात सार्वजनिक सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सवारी साधनमा सीसीटीभी र ट्रान्सपोण्डरको समेत व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
गत असार २८ गते चितवनको सिमलतालमा त्रिशूलीले बगाएको दुई बसबारे अध्ययन कार्यदलले साउन २२ गते गृहमन्त्री रमेश लेखकलाई सुझाव प्रतिवेदन बुझाएको थियो । कार्यदलको सुझाव कार्यान्वयनका लागि गृह मन्त्रालयले यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।
टिकट काटेर मात्र यात्रुलाई यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने, यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने विषय व्यवहारमा उतार्न सुझाव दिइएको छ । चालक तथा सहचालकसँग रोजगार सम्झौता अनिवार्य रूपमा गर्न र न्यूनतम तलबको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ ।
चालकलाई सुरक्षित ड्राइभिङसम्बन्धी तालिम दिन, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन कठोर निगरानीका लागि पनि सरकारले निर्देशन दिएको छ । लामो दुरीका सवारीमा कम्तीमा दुई चालक राख्ने व्यवस्थाको पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
