sevenstartv.com २० वैशाख २०८३, आइतवार

सर्पले टोकेर दुई बालबालिकाको मृत्यु, एक घाइते

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बर्दियामा सर्पको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छन् ।

गुलरिया नगरपालिका-१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन् ।

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्‍याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका-१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्