बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी
काठमाडौं । बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुने बताइएको छ ।
सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको छ । तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताइएको छ । विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए ।
त्यसपछि आन्दोलनरत विद्यार्थीको माग अनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो । यसैबीच, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ ।
