sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

 
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा झरेको छ । संसारभर पेट्रोलियम पदार्थको मागमा आएको कमी र संयुक्त राज्य अमेरिकामा आर्थिक मन्दीको डरले कच्चा तेलको भाउ घटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।यस्तै मध्यपूर्वमा बढ्दो द्वन्द्वको खतराको सङ्केतले पनि भाउ घट्न मद्दत गरेको छ ।

गएको हप्ता हमास र हिजबुल्लाह लडाकु समूहका वरिष्ठ सदस्यहरूको हत्यापछि इरान र यसका सहयोगीहरूले इजरायलमा आक्रमणको तयारी गरेका छन् । इरान र इजरायलबीच युद्ध भएमा मध्यपूर्व सिधै युद्धमा धकेलिने र बाँकी विश्व पनि अप्रत्यक्ष रूपमा युद्धको हिस्सा बन्ने भएकाले तेलको भाउ घटिरहेको हो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल ७३ दशमलव ६७ डलरमा झरेको छ । हिजो र अस्तिको तुलनामा आज भाउ बढे पनि अझै सात महिनायताकै तल्लो तहमा नै रहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्नुको कारण चिनियाँ मागमा आएको व्यापक कमी पनि हो । चीनको खानी र औद्योगिक क्षेत्रमा अहिले मन्दी देखिएकाले इन्धनको खपत कम भइरहेको छ । अमेरिकाले कुनै निर्णय नगर्दासम्म वा अर्थतन्त्रको विषयलाई लिएर वक्तव्य जारी नगर्दासम्म कच्चा तेलको भाउ अस्थिर भइरहने खबरमा उल्लेख छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्