चक्रवात यागीका कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित
काठमाडौं । दक्षिण पूर्वी एसियामा चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण करिब ६० लाख बालबालिका प्रभावित भएका छन् ।
यागीले दुई साताअघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो । थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले बुधबार स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।
कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताएकी छन् । यसै गरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।
म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्तापित भएका छन् । विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै साता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।
युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।
