शान्ति र साम्प्रदायिक एकताको सन्देश दिँदै माइतीघरमा नागरिक अगुवाहरूको ‘सद्भाव र्याली’
देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक द्वन्द्वका घटनाहरू बढ्न थालेपछि त्यसलाई रोक्न र साम्प्रदायिक सद्भाव कायम राख्न काठमाडौँको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली आयोजना गरिएको छ ।
शुक्रबार माइतीघरमा भेला भएका विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले शान्ति, सद्भाव र सामाजिक एकताका पक्षमा प्रदर्शन गरेका हुन् । विशेष गरी तराई–मधेशमा चुलिँदै गएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै सहभागीहरूले देशलाई साम्प्रदायिक दङ्गाबाट जोगाउन सामूहिक अपिल गरेका छन् ।
र्यालीका क्रममा उनीहरूले धार्मिक सहिष्णुता कायम राख्दै आपसी भाइचारा जोगाउन सम्पूर्ण नेपाली नागरिक तथा सरोकारवाला निकायलाई आग्रह गरे ।
प्रदर्शनमा सहभागीहरूले ‘विविधतामा एकता’, सबैको सम्मान, सबैको सुरक्षा’, ‘एक नेपाली, साझा जिम्मेवारी’ र ‘सबैको नेपाल’ जस्ता सद्भावपूर्ण नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
नागरिक अगुवाहरूले कुनै पनि किसिमको विभाजन र हिंसाले देशको हित नगर्ने भन्दै वार्ता, संवाद र संयमताबाटै हरेक समस्याको समाधान खोज्नुपर्ने सन्देश दिएका छन् ।














