sevenstartv.com १० साउन २०८३, आइतवार

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९ दशमलव ३ प्रतिशतले घट्यो

१० साउन २०८३, आइतवार स्टार संवाददाता

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९ दशमलव ३ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको जनाएकाे हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना अर्थात २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा नेपालले कूल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयले जारी गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । उक्त वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ऋण र अनुदानको अंश क्रमसः ६९ दशमलव ७ प्रतिशत र ३० दशमलव ३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा सबै भन्दा बढी ऊर्जा र सडक पूर्वाधारमा ४५ दशमलव ३ प्रतिशत रहेको छ । त्यसैगरी, सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, जलवायु परिवर्तन क्षेत्रमा १२ प्रतिशत, सहरी विकास क्षेत्रमा ९ दशमलव ५ प्रतिशत, डिजिटल सेवामा ४ दशमलव ५ प्रतिशत, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा २ दशमलव ८ प्रतिशत, कृषि, पर्यटन, मानव संशाधन क्षेत्रमा ० दशमलव ८ प्रतिशत र सुशासन तथा अन्य अन्तर्गत २ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे हाे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्