नागढुंगा-सिस्नेखोला सुरूङमार्गकाे भाेलि उद्घाटन गरिंदै
तत्काल आकस्मिक सवारीलाई मात्र अनुमति
काठमाडाैं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ काे सोमबारदेखि औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कूल लागत करिब १९ अर्ब रुपैयाँ रहेको हाे । सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको बताउनुभएकाे छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कूल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी रहेकाे छ ।
उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । महानिर्देशक जैसीले सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ । उक्त अभ्यास सफल भएपछि करिब एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ । सोही अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिब एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले योजना बनाएकाे हाे ।
यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । विगतमा ‘बिल अफ क्वान्टिटी’ (बीओक्यु) मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर यो आयोजना अघि बढाएको थियो । प्राविधिक चुनौती र स्थानीय तहमा रहेका अन्योललाई चिर्दै निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताउनुभयो ।
नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वास गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ । सञ्चालनको शुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ । त्यसपछि क्रमशः अन्य सवारी साधनका लागि मार्ग खुला गरिने विभागको योजना रहेकाे हाे ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ ।


















