जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्थामा कडाइ
काठमाडौं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै सर्वसाधारण र सरोकारवाला सम्पूर्ण पक्षलाई सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था पुनः स्मरण गराएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनाअनुसार धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रशासनले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वा निःशुल्क वितरण गर्न नपाइने जनाएको छ । यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्र सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध रहेको सूचनामा उल्लेख छ । फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री गर्न नपाइने, उपहार वा निःशुल्क रूपमा सूर्तिजन्य पदार्थ वितरण गर्न नहुने तथा बिक्रीस्थलमा आकर्षक सजावट वा प्रदर्शन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले यी व्यवस्था कार्यान्वयन भए नभएको विषयमा नियमित अनुगमन गरिने र उल्लंघन पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
