सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग महासंघको माग
काठमाडौं । इन्धनमा दिनप्रतिदिन भई रहेको मूल्यवृद्धिका कारण जनतामा ठूलो संकट पैदा भई रहेको छ । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले विदेशमा भएको द्धन्दको कारण देखाउँदै हरेक दिन जसो इन्धनको मूल्यमा भारी वृद्धि भई रहेको छ । नयाँ सरकार गठन भए पश्चात ह्वातै इन्धनको मूल्यवृद्धि भइ रहदा त्यसको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारले आनाकानी गरिरहेको छ ।
मूल्यवृद्धिको प्रत्यक्ष मारमा परेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । यसबारे बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् ।
अन्तर्राष्ट्रिय समस्याले इन्धनको मूल्य केही दिनमा ह्वात्तै बढेको छ, यस्तोमा सरकारले ५० प्रतिशत भन्सार कर छुट गरेकोमा त्यसलाई शत प्रतिशत पुर्याउन वा अन्य विकल्प खोज्न माग गरिएको उपाध्यक्ष सिटौला बताएका छन् । सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो । नियमित हेरफेरका क्रममा पछिल्लो भाडादर समायोजन भएकाले इन्धनमा आएको भारी वृद्धिका कारण अहिले फेरि समायोजनको माग गरिएको उनको भनाई छ ।
लामो समयदेखि महासंघले मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गर्दै आएको विषय थियो । तत्काल वैकल्पिक उपाय वा समायोजनमा नगए सेवा दिन नसक्ने भन्दै उनले सरकारलाई चेतावनी समेत दिएका छन् । यस्तै, विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ । ‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक(पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
