sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

मतदाता शिक्षा आजदेखि सकिने

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ ।  निर्वाचन तालिका अनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुदैछ । दलहरुले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् । 

निर्वाचन आयोगका अनुसारसम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। 

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

यस्तै निर्वाचन आयोगले गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ। २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो । यसैबिच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । 

आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको  छ।  यस्तै दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन ९अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न० पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ । 

अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन ९विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म०लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्