टिकटकर तुलसा अधिकारीविरुद्ध पक्राउ पूर्जी
काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन् । ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि तुलसा भागेर चीन पुगेको सातदोबाटो प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार तुलसाले आफूलाई ब्ल्याकमेलिङ गरेर साढे ४ करोड रुपैयाँ र ठूलो परिमाणमा ज्वैलरीसमेत लिएको चिमोरियाले आरोप लगाएका छन् । तुलसामाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी परेको थियो । विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई फरवार्ड गरेपछि यसमा पनि अनुसन्धान सुरु भएको छ । अनुसन्धानबाट तुलसासँग अवैध सम्पत्ति रहेको आधारहरू देखिएको प्रहरीको दाबी छ ।
केही समयअघि छानबिन प्रयोजनका लागि कुमारीपाटीस्थित तुलसा कलेक्सनबाट सामानहरू बरामद गरेर लगिएको थियो । ती सामानहरू अहिले प्रहरीसँगै छन् । अदालतको आदेशअनुसार ती सामानको विषयमा निर्णय हुने प्रहरीको भनाइ छ । तुलसाले सातदोबाटो प्रहरी वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दलाई आरोपित गर्ने प्रयास गरेकी छन् । पूर्णिमाले आफ्नो पसलबाट विगतमा पटक(पटक गहनाहरू किनेर पैसा चुक्ता नगरेको उनको दाबी छ । आफूले पूरा पैसा नतिरीकन बिल दिन इन्कार गरेपश्चात् पूर्णिमा रुष्ट बनेको र अहिले आएर प्रतिशोध साँध्न खोजेको आरोप उनले लगाएकी छन् ।
पूर्णिमा करिब पाँच महिना अगाडि सातदोबाटो वृत्तमा सरुवा भएर आएकी हुन् । उनी आउँदा तुलसामाथि अनुसन्धान सुरु भइसकेको थियो । पूर्णिमाले अनुसन्धानलाई सही रूपमा निरन्तरता दिइरहेको दाबी प्रहरी स्रोतको छ । तुलसा आफ्नो व्यवसायको सिलसिलामा चीन(नेपाल ओहोरदोहोर गरिराख्थिन् । आफू सुरुमा टुरिस्ट भिसामा चीन आएको र पछि त्यहाँ पनि व्यवसाय सुरु गरेको उनले बताएकी छन् । चीनमा २ लाख तिरेर कम्पनी दर्ता गरेको उनको भनाइ छ ।
टिकटकमा विभिन्न विषयमा भिडिओहरू बनाएर तुलसा चर्चामा आएकी हुन् । सेलिब्रिटीका आपसी वादविवाद र सामाजिक इस्यूहरुमा उनी बोल्ने गर्छिन् । टिकटकमा उनका करिब तीन लाख फलोअर्स छन् ।
