सहिदहरूको आकाङ्क्षा पूरा गर्न सबैलाई समर्पित हुन राष्ट्रपतिकाे आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरूको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरे ।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिनका रूपमा आजका दिनलाई लिइने स्मरण गरे ।
