नागार्जुनमा मोटरसाइकल दुर्घटना : सैनिक जवानको मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित फस्कुमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । मंगलबार राति सितापाइलाबाट रामकोट जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको मृत्यु भएको हो ।
नागार्जुन–८ बस्दै आएका तामाङको साथमा सैनिक जवानको परिचयपत्र भेटिएको बताइएको छ । तामाङले चलाएको मोटरसाइकल रामकोटदेखी सितापाइला आउँदै गरेको बा. प्रदेश–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
सो मोटरसाइकल चालक सर्लाही घर भएर ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्न । उनको मनमोहन अस्पतालमा उपचार हुँदैछ ।
