sevenstartv.com १० माघ २०८२, शनिवार

आजदेखि शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

१० माघ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । शहीद सप्ताह शुरु भएको छ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ । 

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाण्डौको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिएको छ । काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डङ्गोलले शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताए । 

शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गतेका दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १० देखि शहीद सप्ताह मनाउन थालिएको हो । शहीद धर्मभक्त माथेमालाई माघ १३ मा अनि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ मा शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो । विशेषगरी शास्त्री, माथेमा, श्रेष्ठ, चन्दको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ । 

१९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्