धवलागिरि बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल र स्वास्थ्य शिविर
काठमाडाैं । धवलागिरि बहुमुखी क्याम्पसको ६३औँ वार्षिकोत्सव शुक्रबारदेखि विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ । पहिलो दिन पत्रकार भेटघाट, प्राध्यापक, कर्मचारी, स्ववियु र पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल, स्वास्थ्य शिविरलगायतका कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ ।
यही माघ ९ गते वसन्त पञ्चमीका दिन वार्षिकोत्सव मूल समारोह आयोजना गरिने क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा साताव्यापी रुपमा विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको उनले बताए ।
भलिबल, क्रिकेट, ब्याडमिन्टन, वादविवाद, म्याराथनलगायत विभिन्न खेलुकद प्रतियोगिता आयोजना गरिएको छ । माघ ७ गते शैक्षिक बहसको आयोजना छ ।नृत्य प्रतियोगितालगायत विभिन्न साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख सहप्राध्यापक डा सिलवालले बताए ।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा क्याम्पसको शैक्षिक गतिविधिसहित पछिल्लो एक वर्षका सम्पादन गरिएको काम र उपलब्धिका बारेमा जानकारी गराइएको थियो ।
