sevenstartv.com २ चैत २०८२, सोमवार

पर्बतमा एक हजार ६१ जना निर्वाचन प्रहरीहरु भर्न गरिने

२७ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ पर्वतमा एक हजार ६१ जना निर्वाचन प्रहरीहरू भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्वतले जारी गरेको सूचनामा निर्वाचनमा खटाउने गरी उक्त सङ्ख्याका निर्वाचन प्रहरीहरूलाई भर्ना गर्ने तयारी थालिएको हो । यसमा भर्ना हुन चाहनेहरूका लागि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलको नं। २५ गण हेडक्वार्टर चण्डिका गण कुश्माबाट फाराम लिने सकिने र दरखास्त पनि यिनै दुई ठाउँमा बुझाउन सकिने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलका अनुसार पौष २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा आवेदन दिन पाइने छ । सार्वजनिक बिदाका दिनमा समेत आवेदन दिन पाइने समितिले बताएको छ । भर्ना हुनका लागि आवश्यक आधार तथा प्राथमिकताका रूपमा माघ १ गतेसम्ममा १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्ने छ । 

साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै पनि राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने भनिएको छ । यस्तै आतङ्ककारी एवं विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको हुनुपर्ने भनिएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपादान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व बन रक्षक भएको, गत वर्षको माघ १ गतेदेखि गत पौष मसान्तसम्म नेपालका सुरक्षा फौजमा भर्ती हुनको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले प्रवेश पत्र पेस गरेमा त्यस्ता व्यक्तिहरूलाई छनोटको लागि प्राथमिकता दिइने समितिले बताएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्