टी–२० महिला विश्वकप छनोटः इन्दुको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको कार्यक्रमअनुसार यही जनवरी १२ देखि फेब्रुअरी १ (पुष २८ देखि माघ १८ ) सम्म काठमाडौंमा आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुनेछ । घोषित टोलीको उपकप्तानमा पुजा महतो छिन् । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, इश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
टोलीमा अनुभवी अलराउण्डर सीता राना मगरले पनि कमब्याक गरेकी छिन् । सीता नेपालको पहिलो पुस्ताका महिला क्रिकेटर हुन् । उनी यसअघि नेपालले एसिया छनोट खेल्दा टिम बाहिर थिइन् । यस्तै सोमु विष्ट र काजल श्रेष्ठले पनि टिममा पुनरागमन गरेका छन् । यसअघि एसिया छनोट खेलेका रुबि पोदार, सबनम राई र इश्वरी विष्ट भने ग्लोबल छनोट खेल्ने टिममा छैनन् ।
महिला टी२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह बी मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ए मा छन् ।
