पोखरामा आउँदो माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ भलिबल हुने
१४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित
काठमाडौं । पोखरामा आउँदो माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय-अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराका अनुसार छैटौँ संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको जानकारी दिए ।
महिलातर्फ थाइल्यान्डका दुई तथा पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहनेछ । च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।
