बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी
काठमाडौं । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो । केही दिनअघि प्रदेश मामिला समितिको पहलमा उसभासमुखज्यू, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।
बागमती प्रदेशसभाका प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा अर्थात् हिउँदे अधिवेशन बोलाउन माग गर्दै आएका छन् । नबोलाइए नियमावलीअनुसार अघि बढ्ने उनीहरूले चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समावादी पार्टी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री बानियाँलाई भेटेर प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन आग्रह गरेका थिए । बागमती प्रदेशको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले दाबी गर्दै आएको छ ।
जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै पार्टीले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहुँदा सरकारले बैठक नबोलाएको हुनसक्ने अनुमान छ । प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबिच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार छ ।
