sevenstartv.com २१ मंसिर २०८२, आइतवार

मिथिलामा शुरु भयो पितृपक्ष

२२ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । मिथिलामा भाद्र पूर्णिमाकै दिन पितृपक्ष शुरु भएको छ ।

आश्विन कृष्ण पक्षलाई पितृपक्ष मानिए पनि यहाँ देव-ऋषिलाई तर्पण गरी पितृपक्ष शुरु गर्न लागिएको हो । मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन हातगोडाका नङ र कपाल काट्ने विधि (नौकेश) देवर्षिलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ ।

पितृपक्षमा दुई प्रकारका श्राद्ध विधान छ। पितृपक्षबाहेकका  तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यो पक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ । मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू  बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् । मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । 

यो परम्पराका कारण आइतबार महोत्तरीका धार्मिक महत्त्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको घुइँचो लागेको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्