sevenstartv.com ११ असार २०८३, बिहिवार

समाजवादीमा वामदेवलाई तेस्रो वरीयता, संगठन विभाग माग्दा लौरो

३० साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा राखेको छ । एकीकृत समाजवादीको शुक्रबारको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । 

सचिवालय बैठकले गौतमसँगै पार्टीमा आएका पत्नी तुलसा थापासहित डीबी कार्की र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्य  बनाउने निर्णय गरेको छ । गौतमसँगै समाजवादीमा पसेका विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, राधेश्याम गुप्ता, रवीन्द्र बम, इमानसिंह भारती, भगवती विष्ट, दुर्गादत्त भण्डारी, तोफा यादव र मोहमद शेर बागवान केन्द्रीय सदस्यमा बनेका छन् । 

समाजवादी नेतृत्वले गौतमलाई साउन २ गते पार्टीमा भित्र्याउँदा नै तेस्रो वरीयता दिने समझदारी बनाएका थिए । विगतमा नेकपा एमालेको प्रभावशाली नेताको रुपमा चिनिएका गौतम विभिन्न पटक गृहमन्त्री बनिसकेका छन् । गौतम अहिलेसम्म एमालेको कोटाबाटै राष्ट्रियसभा सदस्य समेत रहेका छन् । 

नेकपा विभाजनपछि एकता अभियानको लागि भन्दै बेग्लै समूह समेत तयार पारेर सक्रिय हुँदै आएका थिए । एकता अभियानबाट पनि राजनीति पार नलाग्ने देखेपछि गौतमले पुन एमालेमै फर्किएर सक्रिय हुन चाहेका थिए । तर विभिन्न पटकको भेटवार्ता तथा संवाद गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा फर्काउन नचाहेपछि बाध्य भएर एकीकृत समाजवादीमा पसेका हुन् । राजनीतिमा गौतमलाई कडा मिजासको नेताको रुपमा लिइन्छ । कम्युनिष्ट वृतमा खरो नेता मानिने गौतमले एकीकृत समाजवादीमा संगठन विभाग प्रमुखको जिम्मेवारी मागेका छन् । संगठन विभाग प्रमुखको जिम्मेवारी अहिले डा वेदुराम भुसालले समालिरहेका छन् । 

समाजवादीले अर्का उपप्रधानमन्त्री डा भीम रावललाई समेत पार्टीमा भित्र्याएर संगठन विभाग प्रमुख बनाउने योजना बनाएको छ । समाजवादी नेतृत्वले त्यसको लागि अहिले पूर्वगृहमन्त्री रावलसँग विभिन्न माध्यमबाट संवाद गरिरहेको छ । समाजवादीले गौतमलाई भने अनुशासन विभागको जिम्मेवारी दिने योजना बनाएको छ । लोकतान्त्रिक व्यवस्थामा नेता तथा कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्नु अत्यन्तै जटिल कार्य हो । त्यो कार्य पार्टीभित्र अनुशासन विभागले गर्छ । त्यही कारण अनुशासनलाई पार्टीमा लौरो विभाग समेत भन्ने गरिएको छ । 

एकीकृत समाजवादीमा पछिल्लो समय नेता तथा कार्यकर्ताहरु संगठनको हित विपरीत नेतृत्वविरुद्ध विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । त्यसलाई नियन्त्रण गर्न समाजवादीले गौतमलाई लौरोको जिम्मेवारी दिन लागेको हो ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्