बानियाँलाई विश्वासको मत दिन विगतको सहमति कार्यान्वयन हुनैपर्ने बहादुर पक्षको अडान
काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज दिउँसो प्रदेशसभामा विश्वासको मत कार्यसूची तय गरिएको छ। तर मुख्यन्त्री बानियाँले नेपाली कांग्रेसकै बहादुर सिंं लामासहितका १४ जना सांसदबाट विश्वासको मत पाउने वा नपाउने ठेगान भइसकेको छैन ।
मुख्यन्त्री बानियाँ आफ्नै कारणले कांग्रेसभित्र बहादुर पक्षबाट अप्ठ्यारोमा परेका हुन् । बानियाँलाई विश्वासको मत दिन लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने बताएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । तर बानियाँले मुख्यमन्त्री बनेपछि भने सभापति देउवासहितको बैठकमा गरिएको भद्र सहमति उल्घंन गर्दे आफ्नै ढंगले मन्त्रीहरु नियुक्ति गरेपछि स्थिति जटिल बनेको हो । लामाले आफूले साउन दोस्रो साता मन्त्री नियुक्त गरेकाहरुलाई शपथ गराएपछि मात्रै बानियाँलाई विश्वासको मत दिने अडान लिएका छन् ।
निवर्तमान मुख्यमन्त्री लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका थिए । लामालाई मुख्यमन्त्रीबाट राजीनामा गर्न लगाउने बेला कांस्रेस सभापति देउवाले समेत यी तीन जनालाई मन्त्रीमा यथावत राख्ने प्रतिवद्धता जनाएका थिए । तर अहिले बानियाँले त्यसलाई कार्यान्वयन नगरेपछि लामा पक्ष असन्तुष्ट बनेको हो ।
बागमती प्रदेशसभामा मुख्यमन्त्री बानियाँले दिउँसो ४ बजे विश्वासको मत दिने कार्यक्रम तय भइरहँदा लामा पक्षका १४ सांसद भने अहिलेसम्म काठमाडौँंमै छन् । लामा पक्षले बानियाँलाई विश्वासको मत दिनको लागि विगतमा गरिएको भद्र सहमति कार्यान्वयन गर्न नेतृत्वलाई दबाब दिएको छ । लामा पक्षले साउन १४ गते नियुक्त गरिएकाहरुलाई मन्त्री नबनाएसम विश्वासको मतमा सहभागी नहुने अडान लिएपछि आजको लागि तय गरिएको विश्वासको मत लिने कार्यक्रम सर्न सक्ने सम्भावना समेत देखिएको छ ।
