स्पेन भ्रमणबाट फर्किए प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीको ६ दिने भ्रमण सफल र फलदायी भएको परराष्ट्र सचिव अमृत राईले बताउनु भयो ।
प्रधानमन्त्रीको भ्रमणबारे ब्रिफिङ गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभएको बताउनु भयो ।
भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री ओली विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार नगरी जानुभएको छ । विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि उहाँले त्यसो गर्नुभएन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको हो ।
