बीपी राजमार्ग रातिदेखि अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले रोशी गाउँपालिका(१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।
मेला गएर फर्किने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको हो । प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजी स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजी शुरु गरेको जनाइएको छ ।
सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो ।
