आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य अन्तर-व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी छन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो। दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् ।
सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा रहेको छ । सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।
नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन् ।
