सरकार संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र कमजोर बनाउनेतर्फ उन्मुख भयोे : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका जिम्मेवार व्यक्तिहरुले दिएका अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खालका भएको उल्लेख गरेका छन् ।
उनले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने खालका कुरा कसैलाई मान्य नहुने उल्लेख गरेका हुन् । नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उनको भनाई छ ।
नेता आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भई रहेको आम नागरिकले महसुस गर्न थालेको बताएका छन् ।
उनले संविधानका कमजोरी र समस्यालाई संशोधन तथा परिमार्जनमार्फतगर्नु पर्नेमा जोड दिँदै संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर बनाउने खेलमा कोही लागे कांग्रेसलाई सह्य नहुने बताएका छन् ।
आङ्देम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कसैको दया वा कृपाबाट नभई आदिवासी जनजातिसहित नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको प्रति सरकार जानकारक हुनु पर्नेमा जोड दिएका छन् ।
नेता आङ्देम्बेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको समेत प्रष्ट्याएका छन् । नेता आङ्देम्बेले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुन सरकार समक्ष आह्वान गरेका छन् । सरकारले दिएका अभिव्यक्तिका कारण जनतामा संका पैदा हुने वातावरणको सिर्जना भएको उनको भनाई छ ।



















