थाइल्याण्डको भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।उनलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।
त्यसैगरी थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका थिए । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको थियो ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।
