नेपाली जनतालाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले सुरु गरेको र आफैँले अगाडि बढाएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे । उनले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैँले शुरु गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्नेकुरा छोडिदिऔँ। म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय म बाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन। सफल पारौँ । पीडितका घाउमा मल्हम लगाऔँ। उहाँहरुका आँशु पुछौँ । नेपाली जनतालाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुनेछ ।'
