आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउन माग
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताएका हुन् ।
उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने जनाए । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनु पर्ने उनको भनाइ छ ।
उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिए ।
